हत्यामा संलग्न भएको आरोपमा दुई नेतासहित तीन पक्राउ
दुई साताअघि सुनसरीको सिमरिया–१ स्थित इवीआइभी इँटाभट्टाका सुरक्षा गार्डको हत्यामा संलग्न भएको आरोपमा सत्तारुढ दलका दुई नेतासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
भट्टाको सुरक्षाका लागि खटिएका औरावनी–४ का खेदनलाल चौधरीको हत्यामा संलग्न भएको आरोपमा सत्तारुढ दल सदभावना पार्टीका इटहरी नगर सचिव शम्भु चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मोरङ हात्तीमुढाका नेता अजय सरदार र सुनसरीको औरावनीका चन्द्रनारायण मुखियालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमध्ये चौधरी ६ वर्ष डाँका मुद्दामा कैद भुक्तान गरी झण्डै तीन महिनाअघि रिहा भएका थिए। मुखिया भने तराईमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको मधेसी टाइगर्सका कार्यकर्ता भएको प्रहरीको दाबी छ।
पक्राउ परेका तीनै जनाले सुरक्षा गार्डको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय दुहवीका सई दिनेश अधिकारीले बताए। उनका अनुसार तीन महिनाअघिदेखि उक्त भट्टामा काम गर्न थालेका चौधरी पनि डाँका मुद्दामा १० वर्ष कैद भुक्तान गरी रिहा भएका थिए। रिहा भएदेखि नै उनी भट्टामा काम गर्न थालेका थिए। कैद भुक्तान गर्ने क्रममा पुरानो रिसइवी भएकाले सदभावनाका नेता चौधरीको योजनामा हत्या भएको प्रहरीको दाबी छ।
सुरक्षा गार्डको हत्यामा संलग्न अन्य तीन जनाको पहिचान भइसकेको सई अधिकारीले बताए। तीनै जनाको खोजतलास भइरहेको छ। गार्ड चौधरीको मंसिर २३ गते राति हत्या भएको थियो।
No comments yet.